भूमे गाउँपालिका स्तरीय युवा क्लव सञ्जाल गठन :
जेष्ठ २५ २०८१ शुक्रबार
रुकुम ( पूर्व) को भूमे गाउँपालिका स्तरीय युवा क्लव सञ्जाल गठन भएको छ । राष्ट्रिय युवा परिषद् गठन तथा युवा संसद सञ्चालन कार्यविधि, २०७५ बमोजिम गाउँ नगर स्तरीय नमूना युवा क्लव सञ्चालन गर्नुपर्ने व्यवस्था बमोजिम प्रथम भूमे युवा सम्मेलनले सिफारिस गरेका युवाहरुलाई समावेश गरी भूमे गाउँपालिका कार्यपालिकाको वैठकले सुन्दर बुढा मगरको अध्यक्षतामा ११ सदस्यीय युवा क्लव सञ्जाल गठन गरेको छ ।
उक्त सञ्जालको उपाध्यक्षमा ईन्द्रमान शेर्पाली, सचिवमा आस्था वि.क. कोषाध्यक्षमा जालकुमार सुनार, सह-सचिवमा विषणमाया वि.क. र सदस्यमा सुवाश वि.क., मन्थामी वि.क. रुपा वि.क. बिशाल बुढा मगर, विपना रोका, र कमल वि.क. रहनु भएको गाउँपालिकाका प्रवक्ता नारायण पुनले जानकारी दिनुभएको छ ।
भूमे गाउँपालिकाको समग्र विकास र समृद्धीको लक्ष्य हासिल गर्न युवाहरुको सशक्त भूमिका र अपरिहार्यतालाई मध्यनजर गरी विकासको मूल प्रवाहमा युवा, बुद्धिजिवी तथा समाजसेवी लागायत समग्र भूमेली नागरिकहरुलाई परिचालन गर्नुपर्ने तथा विकासमा अपनत्व अनुभूत गराउने कुरा भूमे गाउँपालिका अध्यक्ष श्री होम प्रकाश श्रेष्ठले बताउनु भएको छ । साथै गठित युवा क्लव सञ्जाललाई बधाई दिदै इमान्दारीका साथ जिम्मेवारी निर्वाह गर्न र सिङ्गो समाजमा नेतृत्वकारी भूमिका खेल्दै सामाजिक कार्यमा सफल हुन शुभकामना व्यक्त गर्नु भएको छ ।