स्थानीय सरकार नागरिकको सबैभन्दा नजिकको सरकार हो । नागरिकले राज्यबाट प्राप्त गर्ने आधारभूत सेवा, प्रशासनिक सुविधा र सार्वजनिक उत्तरदायित्वको अनुभूति स्थानीय तहबाटै गर्छन् । त्यसैले स्थानीय तहका प्रशासनिक भवन केवल भौतिक संरचना होइनन्, नागरिक र राज्यबीचको सम्बन्धलाई सहज, व्यवस्थित र भरोसायोग्य बनाउने संस्थागत आधार पनि हुन् । यस दृष्टिले भूमे गाउँपालिकाले वडा कार्यालयदेखि गाउँपालिकाको केन्द्रसम्म प्रशासनिक भवन निर्माणलाई प्राथमिकता दिएको प्रयासलाई स्थानीय पूर्वाधार विकासको सकारात्मक कदमका रूपमा लिन सकिन्छ । स्थानीय शासनलाई प्रभावकारी बनाउन पर्याप्त भौतिक पूर्वाधार आवश्यक हुन्छ । कार्यालयको अभाव, साँघुरा कार्यकक्ष, असुविधाजनक संरचना र सेवाग्राहीका लागि आवश्यक सुविधाको कमीले प्रशासनिक कार्यसम्पादनमा असर पार्न सक्छ । व्यवस्थित कार्यालय भवनले कर्मचारीको कार्य वातावरण सुधार्नुका साथै नागरिकलाई सेवा प्राप्त गर्न सहज वातावरण निर्माण गर्छ । भूमे गाउँपालिकाले विभिन्न वडामा प्रशासनिक भवन निर्माण सम्पन्न गर्नु र गाउँपालिकाको मुख्य प्रशासनिक भवन निर्माणलाई अन्तिम चरणमा पुर्याउनु यसै आवश्यकतासँग जोडिएको विषय हो ।
भूमेको –१ वडा कार्यालय को प्रशासनिक भवन दुई वर्षअघि दुई करोड ५३ लाख रुपैयाँको लागतमा निर्माण सम्पन्न भएको छ । भूमे –७ को भवन दुई करोड ३० लाख रुपैयाँको लागतमा एक वर्षअघि सम्पन्न भईसकेको छ । त्यस्तै, वडा नम्बर ५ को प्रशासनिक भवन १ करोड ३४ लाख रुपैयाँको लागतमा निर्माण तिब्र गतिमा निर्माण चरणमा छ । प्रशासनिक सेवा प्रवाहलाई व्यवस्थित बनाउन भौतिक आधार तयार गरेका छन् । नागरिकले आफ्नै वडामा सहज रूपमा प्रशासनिक सेवा पाउनु स्थानीय शासनको महत्वपूर्ण उपलब्धि हो । भने करिब १२ करोड रुपैयाँको लगानीमा निर्माण भइरहेको गाउँपालिकाको मुख्य प्रशासनिक भवन अन्तिम चरणमा पुगेको छ । ठूला लगानीका संरचनाको सार्थकता निर्माण सम्पन्न हुनुमा मात्र सीमित हुँदैन । त्यसको प्रभावकारी उपयोग र नागरिकले प्राप्त गर्ने सेवाको गुणस्तरले नै वास्तविक उपलब्धि निर्धारण गर्छ ।भूमे–३ को प्रशासनिक भवन निर्माणका लागि एक करोड ९८ लाख रुपैयाँको बजेटसहित योजना ठेक्का प्रक्रियामा रहेको छ । भवनलाई स्थानीय मौलिकता र कलात्मक शैलीसँग जोडेर निर्माण गर्ने अवधारणा अघि सारिएको विषय पनि उल्लेखनीय छ । सार्वजनिक संरचनाले आधुनिक सुविधा र उपयोगितासँगै स्थानीय कला, संस्कृति तथा पहिचानलाई प्रतिनिधित्व गर्न सके त्यसले विकासलाई स्थानीय परिवेशसँग जोड्न अपेक्षा छ । विकासका संरचना स्थानीय भूगोल, संस्कृति र आवश्यकतासँग मेल खाने हुनु पनि महत्वपूर्ण पक्ष हो ।
प्रशासनिक भवन निर्माण गर्दा नागरिकमैत्री संरचनाको अवधारणालाई प्राथमिकता दिनुपर्छ । ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, महिला, बालबालिका तथा सबै सेवाग्राहीको सहज पहुँच सुनिश्चित हुने संरचना निर्माण गर्न आवश्यक छ । प्रतीक्षालय, स्वच्छ खानेपानी, शौचालय, सूचना तथा सहायता कक्ष, डिजिटल सेवा र सेवाग्राहीमैत्री वातावरण भवन निर्माणसँगै जोडिनुपर्छ । आधुनिक भवन निर्माण गरेर मात्र सुशासन सुनिश्चित हुँदैन । भवनभित्र सञ्चालन हुने प्रशासनिक प्रणाली पनि पारदर्शी, जवाफदेही, समयबद्ध र नागरिकप्रति उत्तरदायी हुनुपर्छ । प्रशासनिक भवन निर्माणमा अघि सारेको प्रयास स्थानीय शासनको संस्थागत आधार विस्तार गर्ने दिशामा सकारात्मक छ । तर विकासको मूल्याङ्कन निर्माण भएका भवनको संख्या, लागत र आकर्षक स्वरूपबाट मात्र गर्नु उचित हुँदैन । नागरिकले कति सहज रूपमा सेवा पाए, प्रशासनिक काममा कति समय र खर्च घट्यो, सेवाप्रवाह कति पारदर्शी भयो र सार्वजनिक संरचनाको उपयोगिता कति बढ्यो भन्ने प्रश्न विकासको वास्तविक मापन हुन् ।
अतः प्रशासनिक भवन निर्माणको योजनालाई सबै वडा समेटिने गरी पूर्णता दिन, सम्पन्न संरचनाको प्रभावकारी उपयोग गर्न र निर्माणाधीन योजनालाई समयमै गुणस्तरीय रूपमा सम्पन्न गर्न प्राथमिकता दिन आवश्यक छ । भौतिक पूर्वाधार विकासले स्थानीय शासनलाई बलियो बनाउने आधार तयार गर्छ । त्यस आधारमा नागरिकमैत्री सेवा, पारदर्शिता, जवाफदेहिता र सुशासनको अभ्यास पनि बलियो बनाउन सके मात्र प्रशासनिक भवन निर्माणको लगानी सार्थक हुनेछ ।