कविता : मखमली

गहुको छवालीले छाएको,

सानो घर थियो।

सुख पनि त्यस्तै थिए ।

गहुका बाला जस्तै,

खेतमा झुलेर झप्कै फलेका,

असिनाले कतिखेर,

झार्ने हो पत्तै नहुने ।

 

मखमली,

चोली जस्तै सुहाउने बालपन थियोे।

मझेरीमा बसेर,

छानोबाट खसेका तप्केनी खेल्दै हुर्केको ,

न अनुभव रह्यो,

नयाँ चप्पल र नाना फेरेको,

च्यात्तिएको पाइजामा,

आमाको मजेत्रो ओडेर दाउरा बोकेको,

चिसो छिँडिमा,

बसेर कालो पाटीमा ,

खरीमट्टीले ठूला ठूला अक्षरहरु लेखेको,

ती यादगार विगतका घडी पलाहरुलाई,

आजकाल खुबै सम्झिन्छु ।

 

खाली पाउले,

पाठशालाको चिसो तुसारोमा ज्ञानका ज्योती भर्दै,

कयौं पटक रोएको छु।

छिनेका पिताहरु,

टुकीको सहायताले झुत्रो चप्पलमा चिप्काउदै,

हजार सपनाहरु देखेको छु।

फाटेका हातले निधारका तेस्रा धर्काहरु छाम्दै,

कयौं हिजोहरु बिर्सेको छु ।

कहिले नभेटिने भोलि खोज्दा खोज्दै,

अझै आस मरेको छैन ।

विगतहरु भुलेको छैन ।

 

मलाई तन्नेरी बन्नु थियो।

आसका किरणहरु चुम्न,

समयलाई छिचोल्नु थियोे ।

सुन्दर भविष्य बनाउन,

समयलाई बुवाको शरीरमा देखेको थिए ।

चाउरी परेका गालामा,

माया र प्रेरणा संगालेर हिडेको देखिन्थ्यो ।

फुलेका केशहरुमा,

मिहिनेत र पसिनाको फल फलेको देखिन्थ्यो।

 

दिनैपिच्छे आमा र बुवालाई,

बूढो हुदै गएको देखेको छु ।

समय गालामा  चाउरी परेको,

केशमा फुलेको,

निधार तक्लु हुदै गएको,

नरम र मयाला दाह्रीले,

ग्रिष्म ऋतु भेटाएको,

मेरै आखाले देखेका छन ।

 

इच्छा र सपनाहरु त्यागेर,

सन्तानलाई काखमा सुताएको देखेको छु ।

जिम्मेवारी र परिवारलाई,

काधमा बोकेर खुसीका फूलहरु फुलाएको देखेको छु ।

पीडा र वेदनाहरु भुलेर,

मस्कुराउदै घरको जग हालेको देखेको छु ।

दुई हात जोडेर,

विछ्यानको तकियामा दुबो,

पाथी र अछेता राख्दा देखेको छु ।

परिवारमा शान्तिका लागि,

प्रत्यक दिन बिहान दियो बलेको,

उदाउँदो सुर्य र तुलसीको मठमा जल चढाएको,

यसरी आमाले अनुभव  गरेका चुराहरु छामेको छु।

 

च्यातिएको कट्टु,

मैलिएको कमिज,

फुटेको कालोपाटी,

जुटको झोलामा एक मुठ्ठी रागा भिरेको छु ।

तिहुनका लागि,

गुन्द्रुकको सगुन,

बाटामा पर्ने जंगलमा,

झारपातका फूलहरु कयौंपटक बटुलेको छु।

नुन ल्याउन पुगेका हटारु,

कहिले खासा,

कहिले कोइलावासका,

मिठाइका पोकाकन्थराहरु

पर्खिदै बार्दलीको दलिनमा बसेको छु ।

 

भैसीको गोठमा बिलौनी बसाएको,

बिगौती खाएर आमाको कोखो दुखेको,

चम्चुरमा तेल पट्काएर,

बुवाले आमाको दाहिने कोखोमा लगाएको,

शीत ज्वरोले थल्लिएको बेला,

खुकुरी र कालो भालेको मन्त्र,

तीन चुलाको खरानी,

फुकेर धामी बाले,मेरो हराएको सातो तन्त्रमन्त्रबाट उकासेको,

अजम्बरी रहनेछन।

बरु जिन्दगी नरहला,

याद र सम्झना रहिरहनेछन ।

  • नारायण ओली

Leave a Reply

Your email address will not be published. Required fields are marked *