क) प्राकृतिक पर्यटकीय सम्पदाहरु
१. मारिङ र एकीकृत कृषि अनुसन्धान केन्द्र
नेपालको संविधान बमोजिमको राज्य संरचना अनुसार ५ नं. प्रदेश रुकुम (पूर्व) जिल्ला भूमे गाउँपालिकाको वडा नं. २ र ७ को सिमानामा पर्ने स्थान हो मारिङ। जुन समुद्री सतहबाट २६४० मिटर उचाईमा करिब १५ हेक्टर क्षेत्रफलमा फैलिएको छ।
अधिक उचाईमा रहेको स्थान भएका कारण शरद ऋतुमा करिब ३ महिना जति हिउँ जमेर जीवजन्तु तथा विरुवाहरुको लागि प्रतिकूल हावापानी हुने भएपनि अरु मौसममा सहज रुपमा आवत जावत तथा बास बस्न सकिन्छ। मारिङको स्वच्छ हावापानीमा, धवलागिरी हिमश्रृङ्खला तथा सिस्ने र पुथा हिमालको सुन्दर दृष्यावलोकन गर्न सकिन्छ। उक्त स्थानबाट रोल्पाका थबाङ लगायत विभिन्न स्थान, रुकुम (पूर्व) जिल्लाको भूमे गाउँपालिका र पुथा उत्तरगंगा गाउँपालिकाका विभिन्न स्थानहरुको अवलोकन् गर्न सकिन्छ। मध्यपहाडी लोकमार्गबाट नजिकै भएकाले हाइकिङको लागि पनि गतिलो गन्तब्य हो।
उच्च स्थानमा रहेकाले चिसो हावापानीमा कृषिका नयाँ नयाँ प्रजातिहरु परीक्षण गरी बिउँ बैकको रुपमा विकास गर्न सकिने साथै वन तथा वनस्पति र वन्यजन्तुहरुको अध्ययन अनुसन्धान र अवलोकन गर्न सकिने सम्भावना सहित भूमे गाउँपालिकाले उक्त स्थानलाई एकीकृत कृषि अनुसन्धान केन्द्रको रुपमा विकास अगाडि बढाएको छ। हाल उक्त स्थानमा विभिन्न प्रजातिका बोट विरुवा रोप्ने, तरकारी बालीको परीक्षण गर्ने, टनेल तथा ग्रीन हाउस निर्माण गर्ने, खानेपानी तथा सिंचाई सुविधा पुर्याउने कार्य सम्पन्न भैसकेको छ। मारिङ अतिथि गृह र अनुसन्धान केन्द्र प्रशासनिक भवन निर्माण कार्य भैरहेको छ। उक्त स्थानबाट नजिकका थबाङ गाउँ, महत युद्ध फिचर, महत गाउँ, गुनाम र लाबाङ गाउँ, लुकुम काँक्री तथा तकसेरा, रुकुमकोट लगायतका पर्यटकीय स्थानहरुमा पुग्न पनि सकिन्छ। भूमे गाउँपालिकाको आर्थिक, सामाजिक, सांस्कृतिक महत्व बोकेको यस स्थानलाई पर्यापर्यटनको रुपमा विकास गर्न सकिन्छ।
| पर्यटकीय गन्तव्यको नामः | मारिङ |
| स्थानः | रुकुम (पूर्व) जिल्ला भूमे गाउँपालिका वडा नं २ र ७ |
| विशेषता | समुद्री सतहबाट २६४० मिटर उचाईमा १५ हेक्टर क्षेत्रफलमा फैलिएको रमणीय ठाउँशरद ऋतुमा करिब ३ महिना हिउँले ढाक्नेस्वच्छ हावापानीमा सिस्ने हिमाल, पुथा हिमाल, धौलागिरी हिमालको सुन्दर दृष्यावलोकन गर्न सकिनेउच्च स्थलमा एकीकृत मारिङ कृषि अनुसन्धान केन्द्र |
| पहुँच, पूर्वाधार र अन्य सुविधाको अवस्थाः | धर्मशाला-बागतारे-गुनाम-मारिङ सडकको पहुँचशौचालय, खानेपानीको सुविधा |
| प्रस्तावित गन्तव्य नजिकका अन्य आकर्षक गन्तव्य | थबाङक्याङ्सी जनवादी विद्यालय संग्रहालय, महत यद्ध फिचर, लुकुम वस्तीकमलदह रुकुमकोट, |
| पर्यटकले समय व्यतित गर्न सक्ने आधार | मनोरम दृष्यावलोकन, पिकनिककृषि तथा वनस्पति अध्ययन अनुसन्धान |
| लोकप्रियता | समुद्री सतहबाट २६४० मिटर उचाईमा कृषि अनुसन्धान केन्द्र |
| सुरक्षा प्रबन्ध/संरक्षण | नभएको |
| हालसम्मको भौतिक तथा वित्तीय लगानी र प्रतिफल | वि.सं. २०६२ मा तत्कालीन ने.क.पा. माओवादीद्वारा मारिङलाई एकीकृत जनकम्यून कृषि फर्मको रुपमा स्थापना गरी सुरुमा करिब ४०० जति स्याउको बेर्ना,करिब २०० जति देवदारको बेर्ना लगाइएको उपापबाट ५०० बेर्ना स्याउ, जिल्ला भूसंरक्षण कार्यालयबाट २ वटा पोखरी, जिल्ला कृषि विकास कार्यालयबाट खानेपानी तथा सिंचाईका लागि पाइप, एकवटा मलखाद र द्वन्द्व प्रभावित कार्यक्रमबाट नमूना बाख्रा फर्म स्थापनागाउँपालिकाद्वारा कृषि अनुसन्धान केन्द्रको स्थापना गरी आलु, तरकारी लगाउने, बारी खन्ने, बिरुवाको गोडमेल र संरक्षण गर्ने, खानेपानी तथा सिंचाई संरचना निर्माणस्थानीय पूर्वाधार साझेदारी कार्यक्रमबाट अतिथि गृह, गाउँपालिकाबाट प्रशासनिक भवन निर्माण भैरहेको |
| विकास गर्न सकिने सम्भावना | कृषि अनुसन्धान केन्द्रको स्तरोन्नति र कृषि विउ विजनको उत्पादन, प्रशोधन र बजारिकरण विभिन्न स्थानहरुमा पिकनिक स्पट, टेन्ट स्पटयोजनावद्ध तरिकाले विभिन्न जोनहरु निर्माण गर्नेभूम्या पूजाको फूल चढाउने स्थानहरुको स्तरोन्नति |
ख) ऐतिहासिक सम्पदाहरु
- झुम्लाबाङ तक्सार राजदरबार
२३१५ मिटर उचाईमा रहेको झुम्लाबाङ गाउँमा गरी मगर, नेवार, गुरूङ, दलित, क्षेत्री र ठकुरीहरु आजभन्दा करिब ३०० वर्ष पहिले तामाखानीको सिलसिलामा आई बसोबास गरेका हुन्। उक्त स्थानमा सिन तामो (एक किसिमको नरम खालको तामा) को खानी भएकोले पनि व्यापारिक स्थान भएको हुँदा चौबीसे राजाहरुको पालामा उक्त ठाउँमा राहुल नाम गरेका राजाले चालनेटा भन्ने ठाउँमा दरबार बनाई बीचमा प्वाल परेको तामाको मुद्रा निष्काशन गर्ने तक्सार समेत स्थापना गरेका थिए। स्थानीय बुढापाकाहरुको अनुसार उहिले दरबारको भग्नावशेष रहेको स्थानमा खेल्दा समेत तामाका टुक्रा र तामाको पैसा पाइन्थे। अहिले उक्त पैसा अत्यन्त दूर्लभ रहेको र केही स्थानीयसँग संरक्षित रहेको छ। कमल ताल, थबाङ, महत, लुकुम लगायतको स्थानबाट नजिक रहेकाले पनि तामाखानीका सुरुङहरु, भग्नावशेष दरबार र पहिला टक्सार बसेको ठाउँ व्यवस्थित गर्न सके पर्यटन केन्द्र बन्न सक्छ।
Photo: JVF Nepal
| पर्यटकीय गन्तव्यको नामः | झुम्लाबाङ तक्सार राजदरबार |
| स्थानः | रुकुम (पूर्व) जिल्ला भूमे गाउँपालिका वडा नं ३ झुम्लाबाङ चालनेटा |
| विशेषता | बाईसे राजा (राहुल राजा)को दरबारको भग्नावशेष रहेकोतामाखानी सञ्चालनका बेला मुद्रा प्रकाशन (तक्सार) रहेको |
| पहुँच, पूर्वाधार र अन्य सुविधाको अवस्थाः | सिमा-झुम्लाबाङ-राङ्सी सडक अन्तर्गत झुम्लाबाङको गोठबाङबाट पैदल २० मिनेटमा पुग्न सकिनेखानेपानी, सार्वजनिक शौचालय, होटल लज नभएको |
| प्रस्तावित गन्तव्य नजिकका अन्य आकर्षक गन्तव्य | चन्बाङ प्रभु महाराजको गुफा, गाउँमा रहेका विभिन्न खानीका अवशेषहरुबेलढुङ्गा पिकनिक स्पट, क्याङ्सी जनवादी विद्यालय संग्रहालय, महत यद्ध फिचर, लुकुम वस्तीकमलदह रुकुमकोट, थबाङ |
| पर्यटकले समय व्यतित गर्न सक्ने आधार | भुरेटाकुरे राजाका पालाका राजदरबार, तक्सार र तामाखानीका बारेमा अध्ययन अनुसन्धानमनोरम दृष्यावलकोन, पिकनिक |
| लोकप्रियता | तामाको मुद्रा, तामाखानी र राजदरबार भग्नावशेषले परिचित |
| हालसम्मको भौतिक तथा वित्तीय लगानी र प्रतिफल | हालसम्म भौतिक तथा वित्तीय लगानी नभएको |
| विकास गर्न सकिने सम्भावना | पिकनिक स्पटको रूपमा विकास गरेर आम्दानी गर्न सकिनेढुङ्गे उद्यान, फुलबारी, प्रतिक्षालय तथा दरबारतारबार तथा घेराबारः वृक्ष घेराबारबाट पुरातात्विक संरक्षण र संग्रहालय |
ग) धार्मिक तथा साँस्कृतिक सम्पदाहरु
१. प्रभु महाराजको कुटी
झुम्लाबाङ शिरानको तीर्थस्थल चम्बाङमा गुफा, कुटीको भग्नावशेष र यज्ञ कुण्ड छन्। आजभन्दा करिब ३ सय वर्ष अगाडि चम्बाङमा एक योगी प्रभु महाराज बस्दथे। गाउँलेहरु प्रभु महाराजलाई भेट्न जाँदा फलफूल, खानेकुरा, परिकार लिएर जान्थे। उनीहरुले कोशेली लिएर प्रभु महाराजलाई भेट्न जाँदा मनमा सोँचेको कुरा प्रभु महाराजले पहिल्यै भनिदिन्थे रे। कसैलाई केही वरदान माग्नु परेमा विश्वास गरेर प्रभु महाराजको शरणमा गएमा आफूसँग भएको कुनै फूल, अक्षता, पात वा कुनै जङ्गली जनावर टिपेर वरदान दिन्थे रे। विश्वास नगरेर औपचारिकताका लागि मात्र वरदान माग्न गएमा उल्टै गाली गरेर आगामी दिनमा अविश्वास लिएर नआउन भनी सम्झाएर फर्काउँथे रे। पछि प्रभु महाराज कहाँ गए के गरे केही थाहा भएन। प्रभु महाराज त्यहीँ अन्तरध्यान भएको स्थान भएकाले गाउँलेहरु उक्त स्थानलाई विशेष धार्मिक स्थलको रुपमा श्रद्धा गर्दछन्। प्रभु महाराज सात्विक भएकाले उक्त स्थानमा बली चढ्दैन। नजिकै प्रभु महाराजको कुण्ड रहेको छ। उक्त कुण्डमा रहेको जल आफ्नो शिरमाथि छर्किएमा अञ्जानमा भएका छल पापहरु नष्ट भई पवित्र हुने विश्वास गरिन्छ।
| पर्यटकीय गन्तव्यको नामः | प्रभु महाराजको कुटी चन्बाङ |
| स्थानः | रुकुम (पूर्व) जिल्ला भूमे गाउँपालिका वडा नं ३ झुम्लाबाङ चन्बाङ |
| विशेषता | प्रभु महाराज बसेको कुटी, उनले खाने पानीको कुवा तथा पर्खालको भग्नावशेषपहिले गाउँका मानिसहरुले केही वर माग्न गएमा जंगली जनावर, फल वा केही चिज टिपेर तिम्रो इच्छा पूरा हुन्छ भनी बरदान दिने र पछि पूरा हुने कुरा किम्बदन्तीअहिले पनि बैशाख जेठमा खडेरी परेमा गाउँले जम्मा भएर गाजाबाजा सहित उक्त स्थानमा पानी माग्न जाने र साँझपख पानी पर्ने विश्वास रहेको जलजला देवताकै शाखा मानी वैशाख पूर्णिमामा पूजा हुने (दिशामार)पूजा आजादृष्यावलोकन |
| पहुँच, पूर्वाधार र अन्य सुविधाको अवस्थाः | सिमा-झुम्लाबाङ-राङ्सी सडक अन्तर्गत झुम्लाबाङ गाउँबाट पैदल ४० मिनेटमा पुग्न सकिनेखानेपानी, सार्वजनिक शौचालय, होटल लज नभएको |
| प्रस्तावित गन्तव्य नजिकका अन्य आकर्षक गन्तव्य | चाल्नेटा राजदरबारबेलढुङ्गा पिकनिक स्पट, क्याङ्सी जनवादी विद्यालय संग्रहालय, महत यद्ध फिचर, लुकुम वस्तीकमलदह रुकुमकोट, थबाङ |
| पर्यटकले समय व्यतित गर्न सक्ने आधार | पूजा, अवलोकन, अध्ययनमनोरम दृष्यावलकोन, पिकनिक |
| लोकप्रियता | प्रभु महाराजले कुटी बनाई बसेकोले प्रभु महाराजको कुटी नामले परिचित |
| सुरक्षा प्रबन्ध/संरक्षण | नभएको |
| हालसम्मको भौतिक तथा वित्तीय लगानी र प्रतिफल | स्थानीयले संरक्षण बाहेक हालसम्म कुनै लगानी नभएको |
| विकास गर्न सकिने सम्भावना | ठूलो गाउँबाट चन्बाङसम्म सिँढी निर्माण (झुम्लाबाङ- सेराबाङ-काँडा ट्रेकिङ रुट)कुटी भग्नावशेष संरक्षण तथा कृत्रिम पुनर्निर्माणसंरक्षण तथा तारबारखानेपानी सुविधा तथा कुवा निर्माण (कृत्रिम ताल)जलजला ठान निर्माण तथा संरक्षण |
२. तीन बहिनी धार्मिक स्थल
भूमे गाउँपालिकाको वडा नं ९ चुनबाङको तीन बहिनी धार्मिक स्थल पनि एक पर्यटकीय गन्तव्यको रुपमा विकास भैरहेको छ। बराह मन्दिर रहेको उक्त स्थानमा पुजाका साथै सिस्ने हिमाल, मानाभरे हिमाल, पाठी भरे हिमाल, रोल्पाको विभिन्न स्थान र रुकुमको चुनबाङ, खोपिचार लगायतका स्थानहरुको एकैपटक अवलोकन गर्न सकिन्छ। नेपाली समाज दलित लगायतका जातहरुलाई अछुटको व्यवहार गरी मन्दिर पस्न नदिने गरेको सन्दर्भमा त्यसको ठीक विपरित दलित पुजारी रहने व्यवस्था समेत उक्त मन्दिरमा रहेको छ। उक्त स्थानसम्म पुग्नका लागि प्रदेश सरकारबाट चुनबाङ गैरीगाउँदेखि नै सुरु गरेर ट्रेकिङ पदमार्ग निर्माण भैरहेको छ। तीन बहिनी धार्मिक स्थलबाट चुनबाङ जनयुद्ध संग्रहालय, महत युद्ध फिचर, रुकुमकोटको कमल दह लगायतका अन्य गन्तव्य स्थानहरुमा पुग्न सकिन्छ।
| पर्यटकीय गन्तव्यको नामः | तीन बहिनी लेक |
| स्थानः | रुकुम (पूर्व) जिल्ला भूमे गाउँपालिका वडा नं ९ चुनबाङ |
| विशेषता | धार्मिक तथा पर्यटकीय स्थलबराह मन्दिरमा वर्षमा एक पटक बोका पूजा गरिनेउक्त स्थानबाट खोपिचार, लसुनबारी, चुनबाङको अधिकांश भाग, सिस्ने हिमाल, मानाभरे पाथी भरे हिमाल, रोल्पाको जुमा राङ्सी लगायतका स्थान देखिने |
| पहुँच, पूर्वाधार र अन्य सुविधाको अवस्थाः | चुनबाङ गैरीगाउँबाट पैदल करिब ५ घण्टामा पुगिनेप्रतिक्षालय तथा शौचालयको व्यवस्था |
| प्रस्तावित गन्तव्य नजिकका अन्य आकर्षक गन्तव्य | चुनबाङ भेरीडाँडा संग्रहालय (२ घण्टा), महत युद्ध फिचर (६ घण्टा), लाबाङ (६ घण्टा), थबाङ (७ घण्टा), रुकुमकोट कमल दह (४ घण्टा) |
| पर्यटकले समय व्यतित गर्न सक्ने आधार | दृष्यावलोकन, मेडिटेशन पूजापाठ र अध्ययन अनुसन्धान |
| लोकप्रियता | परापूर्व कालमा तीन बहिनीले बराहको आरधना गरी मनोकांक्षा पूरा गरेको भन्ने किम्बदन्तीका साथै दलित पुजारी हुने मन्दिर |
| सुरक्षा प्रबन्ध/संरक्षण | नभएको |
| हालसम्मको भौतिक तथा वित्तीय लगानी र प्रतिफल | आ.व. २०७४।०७५ मा गाउँपालिकाबाट रु. १५००००।- बजेट विनियोजन भई बराह मन्दिर निर्माण गरिएको आ.व. २०७५।०७६ मा कृषि ज्ञान केन्द्र रोल्पाबाट प्रतिक्षालय र खानेपानी निर्माणगैरीगाउँदेखि तीन बहिनी लेकसम्मको लागि सिँढी निर्माण र प्रतिक्षालय बनिरहेको |
| विकास गर्न सकिने सम्भावना | केबलकार, पार्क निर्माण, पिकनि स्पट, प्रतिक्षालय गैरीगाउँदेखि तीन बहिनी लेकसम्म केबुलकार |
३. भूमे नाच र पूजा
भूमे पर्व १८ मगरात क्षेत्र विशेष गरी रोल्पा/रूकुमको मगर बाहुल्य क्षेत्रमा सबैभन्दा ठूलो उत्सवका रूपमा मनाइन्छ। मगरहरू प्रकृति–पूजक भएकाले भूमिलाइ पूजा गर्ने चलन छ। भेडा, कुखुरा र सुंगुरको बली चढाएर बल पूजा गरिन्छ। यो पर्व बर्खा (वर्षायाम) सुरु हुन लगत्तै असारको पहिलो सातादेखि मनाइन्छ। किसानहरूले अन्न बाली थन्क्याएपछि र आगामी वर्ष राम्रो फसल लागोस्, सबै निरोगी होउन्, समाजमा शान्ति र सद्भाव छाओस् एवं प्राकृतिक प्रकोपबाट बचियोस् भन्ने कामनाका साथ भूमिको पूजा गरिने स्थानीयको भनाई रहेको छ।
भूमे पर्व मनाउन भूमे पूजाको अघिल्लो दिन गाउँलेहरु लेकमा फूल टिप्न जान्छन् र तारो हाल्ने भाकामा गीत गाउँदै नाचगान गर्दै गाउँ झर्छन्। भेडा, कुखुरा र सुँगुरको बली चढाएर बल पूजा गरिन्छ। कतिपय स्थानहरुमा लेकबाट सुँगुरलाई लटारेर पूजा गर्ने खेतबारीसम्म पुर्याइन्छ जसलाई बल तान्ने पनि भनिन्छ। बल पूजा अर्थात भूमे पूजा गरेपछि भूमे नाच सुरु हुन्छ। पराम्परागत भेषभूषामा (गुन्यु चोली, धरो, पछ्यौरी, गादो, गहनामा सजिएका महिला तथा चोली, छड्के, पटुका, टोपी आदिमा सजिएका पुरुष) धुमधामसँग भूमे नाच नाच्छन्। सहनाई, दमाहा, टेम्को लगायत बाजाको तालमा महिला र पुरुषले छुट्टाछुट्टै लाइनको घेरा बनाएर लय पूर्वक नाच्दछन्। नाचका ताल २२ थरि भएता पनि अचेल १२ चाल मात्र नाच्ने गरिन्छ। यो पर्वको तयारी करिब डेढ महिना अघिदेखि सुरु हुन्छ। यो पर्व विशेषतः रूकुम पूर्वका महत, सीमा, धर्मशाला, काँक्री, लुकुम, क्याङसी, काडा, चुनबाङ, तकसेरा, कोल, नाखा, राङसी, जाङ गाउँहरू र रोल्पाका थबाङ, जेलबाङ, उवा आदि ठाउँहरूमा मनाइन्छ।
मगरहरू भूमी (प्रकृति)को पूजा गर्छन्। उनीहरु असार पहिलो साता धुमधामसँग भूमे पर्व मनाउँछन्। फसल राम्रो लागोस्, सबै निरोगी होऊन, प्राकृतिक प्रकोप नपरोस् र समाजमा सद्भाव कायम होस् भनेर भूमे पर्व मनाइन्छ। गाउँपालिकामा प्रकृति पूजकको बाहुल्यता रहेको र यही पर्वको नामबाट पालिकाको नाम भूमे रहन गएकाले स्थानीय सांस्कृतिक पर्वलाई महत्वपूर्ण स्थान दिँदै हरेक वर्ष भुमे गाउँपालिकाले जेठ मसान्त र असार १ गते सार्वजनिक बिदा दिने गरेकोमा २०७७ सालदेखि प्रदेश नं ५ को सरकारले समेत राजपत्रमा प्रकाशन गरेर असार १ गते भूमे पर्व बिदा दिन थालेको छ।
४. झाँक्री नाच लुकुम
अग्लो पहाडको फेदीमा छ, लुकुम गाउँ। संघीयताले जन्माएको देशकै कान्छो जिल्ला रुकुम पूर्वको भूमे गाउँपालिका–१ मा पर्ने यो ठाउँमा खाम मगर जातिको बसोबास छ। यिनै मगर जातिको मौलिक संस्कृति मध्येको एक हो, झाँक्री मेला। धामी–झाँक्री रुढीवादी र अन्धविश्वासी जीवनपद्धति नै हो तर यहाँका लागि भने मौलिक संस्कृति पनि हो। हरेक वर्ष साउन पहिलो साता लुकुम गाउँमा झाँक्री मेला लाग्ने गर्छ।
गाउँछेउको पूर्वतिर अवस्थित चौतारोमा अग्ला धुपी सल्लाका रूख छन्, त्यही धुपी सल्ला भएको ठाउँमा भेला हुन्छन्, गाउँभरका झाँक्री। १ र २ साउनलाई छाडेर आउने सोम, मंगल र शनिबारमध्ये एक दिन यो मेला आयोजना गर्ने प्रचलन रहेको बताउँछन्, स्थानीय झाँक्री समूहका अध्यक्ष जोधे पुन। उनका अनुसार धेरै वर्ष पहिले यहाँका स्थानीयलाई भूतप्रेतले सताएपछि त्यसलाई भगाउन तन्त्रमन्त्र प्रयोग गरिएको थियो। तिनै झाँक्रीले गाउँबाट भूतलाई लेखेटेको खुसियालीमा हरेक वर्ष यो मेला आयोजना गरिन्छ। विधि जानेका र तन्त्रमन्त्र बुझेका झाँक्री घरघरै भएको लुकुम गाउँमा हरेक वर्ष ३०-४० जना झाँक्री एक ठाउँमा भेला भएर नाच्दा माहोल छुट्टै हुन्छ। स्थानीय वुद्धिजिवी रुजिधन घर्ती मगरका अनुसार “मुहारमा अनुहारमा मोसो दलेका र झाँक्री बस्त्र पहिरिएका तान्त्रिकको यो जमघट अर्थात झाँक्री मेला लुकुम र भूमे गाउँपालिकाको मौलिक संस्कृति र चिनारी पनि हो।” गाउँमा रहेका हरेक थरबाट कम्तीमा एक जना झाँक्री नाच्न तयार हुनुपर्छ। झाँक्री पठाउन नसक्ने थरलाई भने जरिवाना तोकिएको छ। झाँक्री भएर पनि सहभागी नपठाउनेलाई १ हजार र झाँक्री नै नभएकालाई ७ सय रुपैयाँ जरिवाना लाग्ने स्थानीय नियम रहेको छ। यसरी जरिवाना बापत उठेको रकम त्यही झाँक्री समूहले मेला व्यवस्थापनमा खर्चिन्छ। भूमे गाउँपालिका अध्यक्ष रामसुर बुढाका अनुसार यस्ता संस्कारमा झाँक्रीका सहयोगी अर्थात् चेलालाई भान्जा भन्ने चलन छ। यिनै भान्जा पछि गएर झाँक्री बन्छन्। भान्जा बन्न चाहनेमा धेरैजसो युवा हुन्छन्। पाहुनालाई सिस्नोले पोलेर स्वागत गरिने यो मेलामा सहभागी हुन स्थानीय मात्र होइन, वरपरका गाउँले पनि मरिहत्ते गर्छन्। झाँक्री मेला र सिस्नो मेला निक्कै ठूलो रौनकका साथ मनाईन्छ।
| पर्यटकीय गन्तव्यको नामः | झाँक्री नाथ थलो लुकुम |
| स्थानः | भूमे गाउँपालिका वडा नं. १ स्थित लुकुम गाउँ |
| विशेषता | लोप हुने अवस्थामा रहेको |
| पूर्वाधार र अन्य सुविधाको अवस्थाः | मध्यपहाडी लोकमार्गबाट सहज पहुँच |
| प्रस्तावित गन्तव्य नजिकका अन्य आकर्षक गन्तव्य | नजिकै जारी खोला र धुपी सल्लाको रुख, मगर घना बस्ति र यस वरिपरिका रमाइला परिदृश्यसडकको सहज पहुँचले गर्दा सबैतिरबाट आवतजावत गर्न सकिने |
| पर्यटकले समय व्यतित गर्न सक्ने आधार | परम्परादेखि चल्दै आएको यो पर्व १ हप्तासम्म चल्ने भएकोले उक्त अवधिभर आन्तरिक तथा बाह्य पर्यटकहरुले कम्तिमा १ हप्ता समय व्यतित गर्न सक्ने आधार उक्त पर्वका बारेमा अध्ययन अनुसन्धान गरी प्रचारप्रसार र प्रवर्द्बनमा योगदान पुर्याउन सकिने |
| लोकप्रियता | मौलिक सँस्कृतिमा आधारित पर्व, यसका लागि सम्बन्धमा विभिन्न स्तरबाट अध्ययन अनुसन्धानका लागि स्थलगत अवलोकन भइरहेको |
| सुरक्षा प्रबन्ध/संरक्षण | सुरक्षा तथा संरक्षण उचित प्रबन्ध नभएको |
| हालसम्मको भौतिक तथा वित्तीय लगानी र प्रतिफल | विदेशका रहेका स्थानीय बासिन्दाहरु र व्यक्तिहरुबाट झाँक्री नाच स्थलको विस्तार तथा दर्शकहरुको लागि बस्न सजिलो हुने प्याराफिटको व्यवस्थाका साथै राक्सो निकाल्ने स्थानको संरक्षण भएको भएता पनि न नासरकारी तवरबाट हालसम्म पर्याप्त योजना तथा लगानी नभएको |
| विकास गर्न सकिने सम्भावना | झाँक्री पर्वस्थल, राक्सो निकाल्ने ठाउँको भौतिक पूर्वाधारको विकासका साथै झाँक्री पर्वमा संलग्न झाँक्री र भान्जाहरुलाई प्रोत्साहित गर्दै पछिल्लो पुस्तामा यसको महत्वबोध गराई संरक्षण र जगेर्नामा जोड दिने |
५. ढङ्गे नचारु (तान्त्रिक नाच)
नेपालको पश्चिमी पहाडी भेकतिर, विशेषत: रुकुम (पूर्व)मा साउनको राँके संक्रान्तिका दिनदेखि सुरु गरी माघे संक्रान्तिका दिनसम्म नाचिने नाच लाई नचारु भन्ने गरिन्छ। रन्मामैकोट, तकसेरा, हुकाम, जाङ, क्याङ्सी, महत, काँक्री र रोल्पाको थबाङ लगायतका एक दर्जनभन्दा बढी गाउँहरुमा नाचिने तीन सय वर्ष पुरानो परम्परा रहेको विश्वास गरिएको र स्थानीय मगर बस्तीमा अत्यन्तै लोकप्रिय रहेको सो नाचलाई रुकुम जिल्लाको ठूलो गहनाका रूपमा लिने गरिन्छ।
ढुंगा र तरबारको धारलाई छोएर कसम खाई सो नाचको सुरुवात गर्ने चलन छ । नाच अन्तर्गत सुरुका साढे चार महिना हरेक दिन साँझपख आ-आफ्नै गाउँमा नाचिने गरिए पनि १२ मंसिरदेखि आफ्नो गाउँ छोडेर छिमेकी गाउँमा गएर नाच्ने परम्परा रहेको छ। पुस महिनाभर अर्काको गाउँमा नाचेर सो महिनाको मसान्तमा विशेष कार्यक्रम गरेर माघे संक्रान्तिका दिन राँगाको बलि दिई पूजाआजा र भोजभतेर गरेर यसको समापन गरिन्छ। मगर गीत गाउँदै विभिन्न भेषभूषामा सजिएर देउसीभैलो जस्तै गरी पन्ध्र देखि बीस जनाको समूहमा घर-घरमा गई नाचिने नाचमा दमाहा, मादल, नरसिंहा जस्ता पुराना बाजाको प्रयोग गरिन्छ। यो नाच नाच्दा मगर बस्तीमा महामारी नपस्ने, कुलदेवता खुसी हुने, गाउँमा शान्ति छाइरहने विश्वास रहँदै आएको छ।
घ) कृत्रिम तथा युद्ध पर्यटन सम्पदाहरु
१. गणतन्त्र संग्रहालय भेरीडाँडा चुनबाङ
जङ्गलको बीचमा रहेको भेरिडाँडा आफैमा जति मनमोहक र आनन्ददायक छ त्यति नै ऐतिहासिक चुनबाङ बैठकका नामले पनि चीरपरिचित छ। नेपालमा दश वर्षे लामो माओवादी सशस्त्र जनयुद्धलाई शान्तिपूर्ण बाटोमा डोर्याउने ऐतिहासिक चुन्बाङ बैठक सबैले सुनेकै नाम हो; जहाँ वि.सं. २०६२ साल असोज-कात्तिकमा प्रचण्ड, बाबुराम, बादल लगायतका शीर्ष नेतासहितको तत्कालीन माओवादी सीसी बैठक बसी सशस्त्र जनयुद्धबाट शान्ति र संविधानको बाटो अङ्गिकार गरी शान्तिपूर्ण आन्दोलनमा सहभागी हुने निर्णय भएको थियो। सोही निर्णयले लामो समयसम्म चलेको सशस्त्र द्वन्द्वले नेपालको भविष्य र शान्ति प्रक्रियामा ऐतिहासिक मोड लियो। सशस्त्र युद्ध शान्तिमा परिणत भएपछि विभिन्न सम्झौता भए; विस्तृत शान्ति सम्झौता भयो; आपसमा वैरभाव भएका दुई समानान्तर सेना समायोजन भए। धेरै मरेका सपनाहरु व्यँझिए, देशमा गणतन्त्र आयो; शासन र प्रशासनले नयाँ मोड लियो। यो निर्णय हुँदैनथ्यो त अहिलेको यो अवस्था सायदै आउँथ्यो भन्ने अनुमान लगाउन सकिन्छ।
नेपाललाई शान्तिपूर्ण बाटोमा दोर्याउने ऐतिहासिक निर्णय भएको चुनबाङ बैठकलाई ऐतिहासिक जनयुद्ध संग्रहालयको रुपमा विकास गर्न तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले २०७३ पौष ९ गतेका दिन जनयुद्ध संग्रहालयको विधिवत् रुपमा उद्घाटन गर्नुभएको थियो। सोही बमोजिम भेरिडाँडा जनयुद्ध संग्रहालयको भौतिक पूर्वाधार सम्बन्धी काम समेत भएका छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय, नेपाल पर्यटन बोर्ड, पर्यटन विभाग, भूमे गाउँपालिकाबाट विभिन्न चरणमा भौतिक तथा वित्तीय लगानी भएका छन्। अन्तरतह सरकारले हाल पनि लगानी गरिरहेको छ। व्यवस्थित योजना बमोजिम तत्कालीन युद्ध अभ्यास, बैठक क्रियाकलाप र निर्णय, युद्ध सामाग्री र गतिविधिको संरक्षण गरी युद्ध संग्रहालयको रुपमा विकास गर्न सकिएको खण्डमा युद्ध पर्यटन, अध्ययन अनुसन्धानको क्षेत्रबाट पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न सकिन्छ।
| पर्यटकीय गन्तव्यको नामः | गणतन्त्र संग्रहालय भेरीडाँडा चुनबाङ |
| स्थानः | रुकुम (पूर्व) जिल्ला भूमे गाउँपालिका वडा नं ९ चुनबाङ |
| विशेषता | युद्ध पर्यटन, खोज अध्ययनको स्रोत, ऐतिहासिक स्थल, विस्तृत शान्ति सम्झौता सम्पन्न गर्न प्रथम बैठक बसेको स्थान, युद्धकालीन हातहतियारका नमूना राखिएको भेरीडाँडाको रमणीय दृश्यावलोकन गर्न सकिने |
| पूर्वाधारको अवस्थाः | सडकको पहुँच (२५-३० मिनेट सिँढी चढ्नुपर्ने), खाना र आवास तथा शौचालय उपलब्ध रहेको। |
| प्रस्तावित गन्तव्य नजिकका अन्य आकर्षक गन्तव्य | मैना सम्धी गुफा, तीन बहिनी लेक, (भूमे ९), महत युद्ध फिचर (भूमे ६), प्राचीन मगर वस्ती (लुकुम काँक्री) भूमे (१ र २), सुन्दर रुकुमकोट (सिस्ने ५ र ६) तकसेरा बस्ती (पुथा उत्तरगंगा गापा), ढोरपाटन सिकार आरक्ष (बाग्लुङ) |
| पर्यटकले समय व्यतित गर्न सक्ने आधार | युद्ध संग्रहालयभित्र सशस्त्र युद्धकालमा जनसेनाहरुले प्रयोग गरेका विभिन्न हतियार, दस्तावेज, डकुमेन्ट्री, ऐतिहासिक चुनबाङ बैठकका क्रममा भएका गतिविधिहरुको जानकारी, नजिकमा रहेका कृषि, नर्सरीहरु, मैनासम्धी गुफाभित्रको अपूर्व प्राकृतिक कलाहरुको अध्ययन अनुसन्धान, मनोरम दृश्यावलोकनका साथै चलचित्र छायांकनका लागि समेत उपयुक्त |
| लोकप्रियता | सशस्त्र युद्धलाई शान्तिपूर्ण आन्दोलनमा रुपान्तरण गर्ने ऐतिहासिक चुनबाङ बैठकको नामले परिचित |
| हालसम्मको भौतिक तथा वित्तीय लगानी र प्रतिफल | नेपाल सरकारबाट यसअघि पूर्वाधार निर्माणका लागि थुप्रै लगानी भएको। आ.व. ०७४।७५ मा भूमे गापाबाट रु. २० लाख, नेपाल पर्यटन बोर्डबाट रु १५ लाख तथा पर्यटन विभागबाट रु १० लाख विनियोजन भई पूर्वाधार लगायतका योजना सम्पन्न। चालु आ.व.मा गापाबाट रु १० लाख विनियोजन |
| सुरक्षा प्रबन्ध/संरक्षण | कम्पाउण्ड वाल र गेटको व्यवस्था गरिएको। सुरक्षा चुनौति नदेखिएकाले सुरक्षा गार्डको व्यवस्था नगरिएको। पर्यटक तथा संरचनामा बाह्य सुरक्षा चुनौति नरहेको। |
| विकास गर्न सकिने सम्भावना | जनयुद्ध संग्रहालय निर्माण गरेर युद्ध र शान्तिको विषयमा अध्ययन गर्ने थलोको रुपमा विकास गर्न सकिने, संग्रहालय मर्मत सम्भार/प्रचारप्रसारमा विशेष जोड दिनुपर्ने |
२. महत युद्ध फिचर तथा शान्ति प्रतिक बुद्ध मूर्ति
तत्कालीन जनयुद्धकालमा जिल्लाबाट सबैभन्दा बढी ज्यान गुमाउने र दुःख पाउने गाउँको रूपमा परिचित भूमे गाउँपालिका वडा नं ६ महतमा महत इलाका प्रहरी चौकी आक्रमणलाई सचित्र उतारिएको महत युद्ध फिचर र युद्धमा ज्यान गुमाउनेहरुको सम्झनामा शान्तिको प्रतीक बुद्धको मूर्ति र शहिद स्तम्भ निर्माण गरिएको छ।
Photo: CSS
तत्कालीन जनयुद्धको विरुद्धमा सरकारद्वारा जारी गरिएको किलो सेरा टु अपरेसनमा खटिएका सबैभन्दा ठूला फिल्ड कमाण्डर प्रहरी नायब उपरीक्षक (डिएसपी) रहेकै बेला माओवादी जनसेना २ नं प्लाटुनले छात्राबासमा बसिरहेको इलाका प्रहरी चौकी महतमा आक्रमण गरी डिएसपी ठूले राईलाई युद्धबन्दी बनाएपछि माओवादी जनयुद्ध थप उत्कर्षमा पुगेको मानिन्छ। जेनेभा सन्धिअनुसार युद्ध बन्दी बनाइएका डिएसपी ठूले राईलाई माओवादी नेता देव गुरुङको रिहाईका लागि साटफेर गर्ने गरी थबाङबाट रिहा गरिएपछि महतको नाम थप चर्चित भएको थियो। सोही कुरालाई पर्यटनसँग जोड्न तत्कालीन जनसेना कमाण्डर नन्दकिशोर पुन पासाङको कमाण्डमा आक्रमणको बेला जल्दै गरेको प्रहरी कार्यालय, बाहिरी मोर्चाबाट लड्दै गरेका माओवादी जनसेना, राज्यतर्फबाट मारिएका सेना प्रहरी ढलेका लाश र तत्कालीन डिएसपी ठूले राईले हात उठाएर आत्मसमर्पण गरेको चित्र देखाइएको युद्ध फिचर निर्माण गरिएको छ। त्यसैगरी महत गाउँमा युद्धकालमा ज्यान गुमाउनेहरुको सम्झनामा स्तम्भ र शान्तिको प्रतीक बुद्ध मूर्ति स्थापना गरिएको छ।
मगर संस्कृतिको जिउँदो संग्रहालयको रुपमा रहेको महत गाउँ, युद्ध फिचर र शान्ति पार्कबाट उक्त स्थानमा पर्यटनको थप विकासको सम्भावना उजागर गरिदिएको छ।
Photo: Surandra Rana
| पर्यटकीय गन्तव्यको नामः | महत युद्ध फिचर तथा शान्ति प्रतिक बुद्ध मूर्ति |
| स्थानः | रुकुम (पूर्व) जिल्ला भूमे गाउँपालिका वडा नं ६ महत |
| विशेषता | , खोज अध्ययनको स्रोत, ऐतिहासिक स्थल |
| पूर्वाधार र अन्य सुविधाको अवस्थाः | ५-२० मिनेटमा हिँडेर पुगिने, का लागि महत गाउँमा होटल तथा होमस्टे उपलब्ध रहेको। |
| प्रस्तावित गन्तव्य नजिकका अन्य आकर्षक गन्तव्य | सम्धी गुफा, तीन बहिनी लेक, (भूमे ९), संस्कृतियुक्त वस्ती (महत, लुकुम काँक्री) कमल दह (सिस्ने ५ र ६), , युद्ध तालिम केन्द्र गुनाम, रोल्पा |
| पर्यटकले समय व्यतित गर्न सक्ने आधार | , बुद्ध पार्क, शहिद स्तम्भको अवलोकन गर्न सकिने, , कला, संस्कृति, भेषभुषाको अध्यययन एवं अवलोकन गर्न सकिने |
| लोकप्रियता | माओवादी जनयुद्धको क्रममा राज्य पक्षको सबैभन्दा ठूलो ओहदाको सुरक्षाकर्मी डि.एस.पी. ठूले राईलाई अपहरण गरी युद्धबन्दी बनाएको र पछि माओवादी नेता देव गुरुङसँग साटफेर गरी रिहा गरेको घटनाले परिचित महत नामले परिचित |
| सुरक्षा प्रबन्ध/संरक्षण | बुद्ध मूर्तिका लागि कम्पाउण्ड वाल र गेटको व्यवस्था गरिएको। युद्ध फिचरका लागि सामान्य तारबार गरिएको तर सुरक्षा गार्डको व्यवस्था नगरिएको। पर्यटक तथा संरचनामा बाह्य सुरक्षा चुनौति कम रहेको। |
| हालसम्मको भौतिक तथा वित्तीय लगानी र प्रतिफल | . २०,००,०००।– र आर्थिक वर्ष २०७५।०७६ मा रु. १०,००,०००।– विनियोजन भई उपभोक्ता समितिद्वारा युद्ध फिचर निर्माण तथा घेराबार र स्थलगत सर्भे कार्य सम्पन्न । .वि.स. रुकुम (मा. सांसद दलजीत श्रीपाइलीको संसद विकास कोष)बाट बुद्ध मूर्ति तथा शहिद स्तम्भ निर्माण गरिएको।. ५०,००,०००।– विनियोजन भई सडक स्तरोन्नति भएको र आर्थिक वर्ष २०७६।०७७ मा रु. ५०,००,०००।– विनियोजन। |
| विकास गर्न सकिने सम्भावना | DPR गरी उक्त क्षेत्रमा बगैचा, पार्क, पिकनिक स्पट, पाहुना घर, प्रतिक्षालय, क्यान्टिन, युद्ध बङ्कर तथा टनेल संरक्षण जस्ता भौतिक पूर्वाधार निर्माण तथा संरक्षण, वरिपरि वृक्षारोपन, नर्सरी निर्माण गरी पर्यटकले अधिकतम समय व्यतित गर्न सक्ने स्थान बनाउन सकिने। |
भाग तीनः सहायक पर्यटकीय क्षेत्रहरु
कला तथा संस्कृति
१. झोरेल्नी (झोलेनी) नाच
झोलेनी नाँच पनि यहाँ नाच्ने गरिन्छ। महिला समूहहरू टोलटोलमा नाच्दै गाउँदै हिँड्छन्। गाउँघरको सुख दुःखका गीतहरू गाउँछन्। झोलेनी टोलीलाई गाउँलेले भेटीका रुपमा पैसा दिने चलन छ। दक्षिणा पाएपछि उनीहरू आषिश दिन्छन्। भूमे गाउँपालिकाको क्याङ्सी, काँक्री र महतमा बढी नाच्ने गरिन्छ झोलेनी नाच।
२. फाँक नाच
फाँक नाच अठार मगरात क्षेत्रका मगर समुदायको मौलिक संस्कृतिक हो। यो नाच यस क्षेत्रमा लोपोन्मुख हुन लागेको मौलिक सांस्कृतिक नाच पनि हो। महिला र पुरुषको छुट्टाछुट्टै समूह मिलेर फाँक भाकामा गाउँदै यो नाँच नाचिन्छ। एक टोलीले गाउने र अर्कोले जवाफ फर्काउने गर्छन्।
३. डिग्रे (पैसरी) नाच
यस क्षेत्रमा डिग्रे (पैसरी) नाँच हिउँद र बर्खा दुबैमा नाचिन्छ। उनीहरू दिनमा नाच्ने गर्छन्। हात खुट्टामा पैजन लगाएर, मादल, झ्याली र दमाहाको साथमा साउन संक्रान्ति, विभिन्न चाड पर्व, दसैं तिहार, मेला पर्व मान्न आउँदा नाच्ने चलन छ।
४. सिंगारु नाच
गाउँपालिकाको वडा नं. ३ झुम्लाबाङमा हरेक वर्षको वडा दशैको अवसरमा सिंगारु पहिर्याएर घरघरमा सिंगारु नाच लैजाने चलन छ। सिंगारु पहिर्याउँदा पुरुषलाई महिलाको पोशाक चोली, फरिया, घाँघर र सुनचाँदीका गहनाहरु लगाईदिन्छन्। रानामगरहरुले दशैंको सप्तमीका दिन बाहुन बोलाएर रातभर मन्त्र पाठ गरी कालरात्री मनाएपछि सिंगारु पहिराउने र घरघरमा नाचिसकेपछि दशैंको दिन साँझ सिंगारू फुकाउँछन्। सिंगारु पहिराउँदा र फुकाउँदा मन्त्र पाठ र विधि पूरा गरेर गर्नुपर्छ नत्र देवी रिसाउँछन् भन्ने विश्वास रहेको छ। बडादशैंको साँझ दशै लघार्ने अर्थात् देवी विसर्जनका समयमा पनि विशेष रमाइलो हुन्छ।